ईर्साद अन्सारी
२२ जेठ,बारा । माध्यमिक शिक्षा परीक्षा (एसईई) का क्रममा परीक्षार्थीहरूबाट जफत गरिएका सात ओटा आईफोन, ४८९ वटा एन्ड्रोइड फोन र पाँच वटा स्मार्टवाच गरी करिब पाँच सय थान उपकरणहरू (जसको अनुमानित बजार मूल्य एक करोड रुपैयाँभन्दा बढी छ) लाई जिल्ला परीक्षा समन्वय समिति सिरहाले जिल्ला प्रहरी कार्यालयको प्राङ्गणमा जनप्रतिनिधि, शिक्षा समिति र सञ्चारकर्मीहरूको रोहबरमा २४ घण्टासम्म पानीको ड्रममा डुबाएर तथा वाटरप्रुफ सेटहरूलाई फुटाएर नष्ट गरेको छ ।
मधेस प्रदेशकी तत्कालीन शिक्षामन्त्री रानी शर्मा तिवारीको परीक्षामा मोबाइल प्रयोग गरिए नष्ट गर्ने घोषणा र परीक्षा सञ्चालन निर्देशिका विपरीतको कार्य ठहर गर्दै शाखा अधिकृत राजदेव यादवको नेतृत्वमा गठित पाँच सदस्यीय उपसमितिको प्राविधिक सुनिश्चिततापछि यो पूर्व निर्णय कार्यान्वयन गरिएको जानकारी डीएसपी रमेशकुमार पालले दिएका छन् ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले लिलाम गर्दा आईएमईआई नम्बरका कारण भविष्यमा आउन सक्ने सुरक्षा र कानुनी जटिलता एवम् विद्यार्थीको भविष्य हेरेर कडा अभियोग (एक लाख जरिवाना र एक वर्ष कैद) नलगाई यस्तो ‘न्यायिक मन’ प्रयोग गरिएको बताएका छन् ।
तर यो कार्यको भिडिओ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा भण्डारी जीपी, हुमविष्णु थापा, रामसेवक महरा, सिकन्दर यादव, रविन कुमार, थैगेन्द्र विक्रम थापा, सञ्दीप साह, राई सुवास, कुशल चाम्लिङ, हेम यादव, रुद्र प्रताप सिंह र अशोक यादव लगायतका प्रयोगकर्ताहरूले यसलाई मानवीय संवेदनाहीन, अदूरदर्शी, आर्थिक रूपमा कमजोर मधेशका नागरिकमाथि अन्यायपूर्ण र देशको सम्पत्ति बाहिरिने मूर्खतापूर्ण निर्णय भन्दै आक्रोश पोखेका छन् ।
र यसको सट्टा जरिवाना तिराएर अभिभावकलाई फिर्ता दिनुपर्ने वा पारदर्शी लिलामी गरी उक्त रकम शिक्षा कल्याण कोषमा जम्मा गर्नुपर्ने विकल्प सुझाएका छन् ।


