१३ चैत,काठमाण्डाैं । काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर संसदीय राजनीतिमा होमिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) ले नेपालको प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ३६ वर्षीय शाहले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (१) बमोजिम प्रतिनिधि सभामा स्पष्ट बहुमत प्राप्त दलको नेताको हैसियतमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका थिए, जुन संविधान जारी भएपछि यो धारा प्रयोग भएको पहिलो अवसर समेत बनेको छ।
झापा क्षेत्र नम्बर ५ मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई झण्डै ५० हजार मतान्तरले पराजित गर्दै संसद् छिरेका शाह, मधेसी समुदायबाट देशको कार्यकारी प्रमुख बन्ने पहिलो व्यक्तिका रूपमा इतिहास रच्दै मुलुकको नेतृत्व सम्हाल्न पुगेका छन्।


