५ माघ,काठमाण्डाैं । निर्वाचन नजिकिँदै गर्दा प्रहरी प्रधान कार्यालय नक्सालले ठूलो संख्यामा जिल्ला प्रहरी प्रमुखहरूको हेरफेर गर्दै ४८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ।
यस सरुवा अन्तर्गत ललितपुर र झापा जस्ता महत्वपूर्ण क्षेत्रमा नयाँ नेतृत्व पठाइएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको आर्थिक प्रशासन महाशाखामा कार्यरत गौतम मिश्रलाई जिल्ला प्रहरी परिसर ललितपुरको प्रमुखमा सरुवा गरिएको छ भने त्यहाँ कार्यरत चक्रराज जोशीलाई नेपाल प्रहरीको केन्द्रीय विशेष कार्यदलमा पठाइएको छ।
त्यसैगरी, चुनावी सुरक्षाका दृष्टिकोणले ‘हटस्पट’ मानिने झापामा बसुन्धरा खड्कालाई जिम्मेवारी दिइएको छ; उनी यसअघि बागमती प्रदेश मानव श्रोत व्यवस्थापन महाशाखा हेटौँडामा कार्यरत थिइन्।
सरुवा हुने अन्य एसपीहरूमा अनन्तराम शर्मा, अनिल कुमार खड्का, अमरेन्द्रबहादुर सिंह, अर्जुन प्रसाद तिमिल्सिना, एक नारायण कोइराला, काजी कुमार आचार्य, कुलदीप चन्द, केशव भट्टराई र गजुसिद्धी बज्राचार्य लगायत रहेका छन्।






